काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि वार्ता गर्न तयार रहेकाे बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेकाे केहि समय पछि जेलेन्स्कीले युक्रेन वार्ताका लागि तयार रहेकाे बताएका हुन् ।
जेलेन्स्कीकाे भनाइ उदृत गर्दै बिबिसीले लेखेकाे छ, ‘रूसले अन्ततः युद्ध अन्त्यको बारेमा सोच्न थालेको कुरा सकारात्मक संकेत हो । पूरै विश्वले यो क्षणको लामो समयदेखि प्रतीक्षा गरिरहेको थियो । कुनै पनि युद्ध अन्त्यको पहिलो महत्वपूर्ण कदम भनेको युद्धविराम नै हो । अब एक दिन पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन । हामी अपेक्षा गर्छौं कि रुसले युद्धविराम — पूर्ण, स्थायी र भरपर्दो — भोलि १२ मेदेखि सुरु हुने गरी पुष्टि गर्नेछ, र युक्रेन त्यसका लागि तयार छ।’
आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५ मा वार्ता गर्ने प्रस्ताव गरेका थिए । युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।
पुटिनले टर्कीको इस्तानबुलमा उक्त वार्ता प्रस्ताव गरेका छन् ।

