प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाटै ‘राष्ट्रघाती’ अभिव्यक्ति दिए : केपी ओली

spot_img

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को गरिमामय रोष्ट्रमबाट ‘राष्ट्रघाती’ अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ । मंगलबार (२० जेठ) राजधानीमा आयोजित पार्टीको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रधानमन्त्रीको संसदीय व्यवहारलाई ‘बचपना’ को संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले नेपालले भारतीय जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति पूर्णतः असत्य, भ्रामक र राष्ट्रिय हित विपरीत रहेको दाबी गर्नुभयो । “प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोष्ट्रममा उभिएर आफ्नै देशमाथि मिथ्या आरोप लगाउनु लज्जास्पद विषय हो,” ओलीले भन्नुभयो, “यो अभिव्यक्ति नेपाली जनताको स्वाभिमानलाई हेप्न र बाह्य शक्तिलाई रिझाउनका लागि चालिएको कदम हो ।”

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल लगायत अन्य राजनीतिक दलहरूले समेत असन्तुष्टि जनाइरहेका बेला ओलीको यस्तो कडा टिप्पणी आएको हो । ओलीले देशको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएका विषयमा हलुका र अपरिपक्व टिप्पणी नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिनुभएको छ ।

यसैबीच, प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सदन र सडकमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक समेत बस्न लागेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार