राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने चुनावलाई एउटा सामान्य प्रतिस्पर्धा मात्र नभई ‘देशले नै जित्ने निर्वाचन’ भनेका छन्।
बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले तिमी-हामी सबैको भविष्य बदल्ने यो चुनाव नेपाली इतिहासकै एक महत्वपूर्ण खुड्किलो (माइलस्टोन) हुने दाबी गरे।
लामो समयदेखि केही बिचौलिया र सिन्डिकेटको मुठ्ठीमा रहेको यो देशलाई अब तिम्रो एउटा भोटले मुक्त गराउन सक्ने उनले बताए। “फागुन २१ पछि मुलुकले पुराना र अपराधिक गिरोहबाट सदाका लागि मुक्ति पाउनेछ,” उनले भने। उनले चुनावी परिणाम जे जस्तो आए पनि आफूलाई स्वीकार्य हुने तर अबको संसद्मा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने र पुरानो राजनीतिक संस्कार सधैँका लागि अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन्।
खुट्टाको चोट र स्वास्थ्य समस्याका बावजुद चुनावी मैदानमा उत्रिएका लामिछानेले यो निर्वाचनले तिम्रो र आगामी पुस्ताको भविष्यको सही दिशा तय गर्ने विश्वास व्यक्त गरे।

