बैतडीमा आगामी प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि तालिमरत एक निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भिरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ४ का ३२ वर्षीय प्रकाश चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (DSP) दीपककुमार रायका अनुसार, आज बिहान सुन्दरखाली मैदानमा सञ्चालित निर्वाचन सुरक्षा तालिम सकेर घर फर्कने क्रममा खरकटे सल्लेरी भन्ने स्थानमा चिप्लिएर भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सरकारले यसअघि नै निर्वाचनको समयमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मी वा निर्वाचन प्रहरीको मृत्यु भएमा क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरिसकेको छ, जसअन्तर्गत मृतकका परिवारले राहत पाउने अपेक्षा गरिएको छ।

