आईसीसी टी–२० विश्वकप २०२६ को संघारमा नेपाली क्रिकेटले विश्व मञ्चमा अर्को एउटा ऐतिहासिक रेकर्ड कायम गरेको छ।
मैदानमा ब्याट र बलले प्रतिस्पर्धा सुरु हुनुअघि नै नेपाली समर्थकहरूले टिकट बिक्रीमा तहल्का मच्चाएका छन्। पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार, यो विश्वकपमा आयोजक राष्ट्र भारतपछि सबैभन्दा धेरै टिकट बिक्री हुने देशको सूचीमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ।
अस्ट्रेलिया, पाकिस्तान र इंग्ल्याण्ड जस्ता क्रिकेटका पावरहाउस मानिने देशहरूलाई पछि पार्दै नेपालको यो उपलब्धिले विश्व क्रिकेट जगतलाई नै चकित तुल्याएको छ। विशेषगरी मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालका खेलहरूका लागि टिकटको माग यति उच्च छ कि बुकिङ खुलेको केही मिनेटमै अधिकांश टिकटहरू ‘सोल्ड आउट’ भएका छन्।
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियम यसपटक नेपाली टोलीका लागि ‘दोस्रो घरेलु मैदान’ बन्ने निश्चित देखिएको छ। नेपालले समूह चरणका सबै चार खेल यही मैदानमा खेल्ने तालिका छ, जहाँ ३० हजारभन्दा बढी दर्शकको क्षमता रहेको छ।
फेब्रुअरी ८ मा हुने इंग्ल्याण्ड विरुद्धको ऐतिहासिक खेल र फेब्रुअरी १५ मा हुने वेस्ट इन्डिज विरुद्धको भिडन्तका लागि नेपाली फ्यानहरूले सबैभन्दा बढी उत्साह देखाएका छन्। नेपालभित्र मात्र नभई भारतमा रहेका लाखौँ नेपाली र विश्वभर छरिएका प्रवासी नेपालीहरूले मुम्बईको यात्रा तय गरिसकेका छन्।
यसले के प्रस्ट पारेको छ भने, यसपटक वानखेडेको मैदान रातो र निलो रङको जर्सी अनि नेपाली झण्डाले भरिनेछ, जसले नेपाली क्रिकेटको बढ्दो क्रेज र फ्यानहरूको अटुट मायालाई विश्वसामु प्रमाणित गर्नेछ।

