‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ : एमालेको चुनावी घोषणापत्रको मूलमन्त्र

spot_img

नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्रमा ‘राष्ट्रियता’ को मुद्दालाई सबैभन्दा उच्च प्राथमिकतामा राख्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष नेतृत्वमा तयार भइरहेको यस घोषणापत्रले “बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र” लाई आफ्नो मुख्य नारा (मन्त्र) बनाउने तयारी गरेको छ। पार्टीका अनुसार, बाह्य हस्तक्षेप र सीमा सुरक्षा जस्ता विषयमा सम्झौताहीन अडान राख्दै मुलुकको सार्वभौमसत्ता रक्षा गर्नु नै एमालेको चुनावी एजेन्डाको पहिलो आधार हुनेछ।

घोषणापत्रमा राष्ट्रियतासँगै आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई विशेष जोड दिइँदैछ।

पर्यटन क्षेत्रको विकास गरी वार्षिक २५ लाख पर्यटक भित्र्याउने, ५ वर्षभित्र कुल गार्हस्थ्य उत्पादन (GDP) लाई १०० खर्ब पुर्‍याउने र प्रतिव्यक्ति आम्दानी ३ लाख रुपैयाँ (करिब २४०० डलर) पुर्‍याउने जस्ता आर्थिक लक्ष्यहरू घोषणापत्रमा समेटिएका छन्।

फागुनको पहिलो हप्ताभित्र सार्वजनिक गरिने यस दस्तावेजमार्फत एमालेले युवा उद्यमशीलता, जेन्जी (Gen-Z) पुस्ताका भावना र सामाजिक सुरक्षाको दायरा विस्तारलाई समेत चुनावी अस्त्र बनाउने देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार