काठमाडौँ । भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा पाकिस्तानले अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको छ । पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही स्वरूप उक्त अपरेसन चलाइएको भनेर पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि सार्वजनिक गरिएको छ ।
यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि पाकिस्तानकाे पत्रिका डनले उल्लेख गरेको छ ।
पाकिस्तानकाे प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा समेत भारतकाे हमलाकाे उपयुक्त जवाफ दिएकाे बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौं। भारतलाई उपयुक्त जवाफ दिइएको छ ।’
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् । शरीफले पाकिस्तानले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको पुष्टि गर्दै यो कारबाहीलाई ‘राष्ट्रिय सुरक्षाको रक्षा’ को रूपमा प्रस्तुत गरेका छन् ।
यसअघि एक अर्काका सैन्य संरचनामा आक्रमण नगरेका दुवै देशले शुक्रबारदेखि भने एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन् । दुई देशबिचको सैन्य कारवाहीसँगै अबकाे स्थिति निकै संवेदनशील र खतरनाक मोडमा पुगेको देखिन्छ । दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भइरहेका छन् । आक्रमणमा ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको बताइएकाे छ ।
दुई देशबीच तोपखानामा हमला गर्ने प्रतिस्पर्धा चलिरहेको छ । यी हमलाहरूमा अहिलेसम्म पाकिस्तानतर्फ १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइते भएकाे समाचार अलजजिराले लेखेको छ ।
यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारत पकिस्तानबीच बढ्दो तनावले आणविक हतियार सम्पन्न दुई देशबीचको देशबीचको तनाव अब लामो द्वन्द्व हुँदै युद्धमै परिणत हुनसक्ने आशंका र त्रास बढेको छ ।
शुनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख जनरल असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए । उनले दुवै देशले संयमता अपनाउनुपर्ने सुझाव दिँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । त्यसको मध्यस्थ गर्न बरू अमेरिका तयार रहेको सन्देश पनि उनले दिएका छन् ।

