काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विवेकले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र रहेको बताएका छन् । गोरखापत्रको १२५ औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र संस्थानले आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इशारा केहि नदिएकाे समेत स्पषट पारे ।
‘अहिले प्रधानमन्त्रीबाट गोरखापत्रलाई कुनै दबाब, निर्देशन, इशारा केही जाँदैन । तपाईँहरु आफ्नो ब्रम्हले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ,’ ओलीले भने।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाल’ को राष्ट्रिय आकांक्षामा समेत गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेकाे प्रधानमन्त्री ओलीले स्मरण गरेका थिए ।
गोरखापत्रले अबका दिनमा पपुलिस्ट प्रवृत्तिका सञ्चारमाध्यमसँगको चुनौती सामना गर्नुपर्नेमा बताए । उनले भने, ‘जसरी पनि नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने, आज एउटा झुटलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्नेछ ।’

