काठमाडौँ । झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । सोमबार बिहान पौने ९ बजे लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको हाे ।
लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो ।
झापाकाे कनकाई नगरपालिका-४ तल्लो चाप्रामारीमा शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच्न खोजेको थियो । तर प्रहरीलाई देख्न बित्तिकै मोटरसाइकल र झोला फालेर एक पुरूष भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरीले झोलासहित २०४ दशमलव ०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ ।
प्रहरीले कारोबारीको खोजी गरिरहेको छ ।

