काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट नियन्त्रणमा लिइएकाे हो ।
प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ । उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।
सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएकाे हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
साे घटनाका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
तर, साे घटनामा चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध साे घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।

