शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको महासंघकाे आरोप, ६० भन्दा बढी शिक्षक घाइते

शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा ६० भन्दा बढी शिक्षक घाइते भएकाे महासंघ बताएकाे छ । 

spot_img

काठमाडाैँ । शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको नेपाल शिक्षक महासंघले आरोप लगाएको छ ।

शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर सरकारले नाङ्गोपना देखाएकाे बताएका हुन् ।

‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् । भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन । अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ । शिर झुकाउँदैनौँ डराउँदैनौँ ।’

शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा ६० भन्दा बढी शिक्षक घाइते भएकाे महासंघ बताएकाे छ ।

 झडप कसरी शुरू भयाे 

आइतबार शिक्षक प्रदर्शन गर्न माइतीघरमा भेला भएर बानेश्वरतिर लागे । निषेधित क्षेत्र ताेकिएकाे बानेश्वरमा  संसद भवन अगाडि प्रहरीले बार लागाएकाे थियाे । शिक्षकले प्रहरीले लगाएकाे बार (ब्यारिकेड) भत्काउन खाेजे र निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढ्न खोजे । सुरुमा केहीसमय प्रहरी र शिक्षकबिच तनावपूर्ण अवस्था सिर्जना भयाे । प्रहरीले पछाडि हट्न र तोकिएको क्षेत्रभित्रै रहेर आन्दोलन गर्न भने । तर, शिक्षकहरूले मानेनन् । शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ ‘गृहमन्त्री राजीनामा दे’लगायत नारा लगाउँदै अघि बढन् खोजे ।

शिक्षककाे केही बेरको तानातानपछि बार भत्काएर शिक्षकहरू निषेधित क्षेत्रतर्फ अघि बढ्परन खाेजे । त्पसपछि प्रहरीले  पानीको फोहोरा हान्यो । पानीको फोहोरा हानेपछि भड्किएका शिक्षकहरूले सडकपेटीमा रहेका ढुंगा हान्न थाले । र, प्रहरीले पनि लाठी चार्ज गर्न सुरु गर्‍यो ।

केही बेर तनावग्रस्त बनेको बानेश्वरमा  ६० भन्दा बढी शिक्षक घाइते भएका छन् ।

सुरुवातमा शिक्षक महासंघले घाइते शिक्षकलाई आफ्नो मञ्च अगाडि नै घेरा हालेर प्राथमिक उपचार गर्न थाल्यो । एम्बुलेन्स पनि बोलाए । तर, एम्बुलेन्सलाई पनि प्रहरीले अगाडि नै रोक्यो । करिब ५ मिनेटसम्म एम्बुलेन्स रोकियाे, शिक्षकहरू झन् आक्रोशित बने । अन्तिममा शिक्षक महासंघका नेतृत्व टोली नै प्रहरीसम्म पुगेर केही बेर छलफल गरी एम्बुलेन्स मञ्चसम्म लिएर आयो । र, घाइतेलाई अस्पताल लगियो । घाइतेहरूकाे मिनभवन स्थित सिभिल अस्पतालमा उपचार भैरहेकाे छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक भने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ। समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार