काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको विकासका लागि पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरूको आह्वान गर्ने तयारी गरेको छ। आगामी जेठ १५ गते आउने सरकारी बजेट र त्यसअघि प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई लक्षित गर्दै रास्वपाले विज्ञहरूको सुझाव र ठोस योजना समेट्न लागेको हो। पार्टीका सहप्रवक्ता विपिनकुमार आचार्यका अनुसार आइतबार बस्ने सचिवालय बैठकले यसको विस्तृत प्रारूप र कार्यविधि तय गर्नेछ।
यस नयाँ अभ्यास अन्तर्गत कुनै पनि व्यक्ति वा संस्थाले पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, उद्यमशीलता र उत्पादन लगायतका विभिन्न क्षेत्रमा आफ्ना नवीन योजना र दृष्टिकोण प्रस्तुत गर्न सक्नेछन्। व्यक्तिगत क्षमता र विज्ञतालाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले रास्वपाले परम्परागत शैलीभन्दा बाहिर गएर यो सार्वजनिक आह्वानको नीति अवलम्बन गर्न लागेको बताएको छ। यसअघि राजनीतिक दलहरूमा विज्ञ र योजनाका लागि यसरी सार्वजनिक आह्वान गर्ने प्रचलन खासै थिएन।

