काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको डेरामा भएको चोरीको घटनामा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य योजनाकार ४२ वर्षीय विष्णुबहादुर राजवाहक, ४६ वर्षीय खिमबहादुर खड्का र ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।
मुख्य अभियुक्त विष्णुबहादुर राजवाहक यसअघि नै चोरीको मुद्दामा ३ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका थिए। उनी गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको झडपको फाइदा उठाउँदै नख्खु कारागारबाट फरार भएका थिए।
कारागारबाट भागेपछि राजवाहकले बालेन शाहको डेरा कोठा (चप्पल कारखानास्थित सितादेवी गुरुङको घर) सहित उपत्यकाका ५ विभिन्न स्थानमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट चोरी भएको Apple MacBook Pro, Dell ल्यापटप, सीसीटीभीको DVR मेसिन, चाँदीका भाँडाकुँडा र धाराका टुटीहरू समेत बरामद गरेको छ।
मुख्य अभियुक्त राजवाहकले कारागारबाट भागेपछि समूह बनाएर श्रृंखलाबद्ध चोरी गर्दै आएको देखिन्छ। उनीहरूले महँगा इलेक्ट्रोनिक्स सामानदेखि घरका धाराका टुटीसम्म चोर्ने गरेका थिए।

