हेटौंडाको गैरीगाउँमा सडक भासिएर जमिनमुनी हराएको गाडी अझै भेटिएन, सशस्त्र प्रहरीको टोलीले गाडी खोज्दै

spot_img

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा शुक्रबार दिउँसो भासिएर जमिनमुनि हराएकाे गुडिरहेको बोलेरो पिकअप भ्यान अझै भेटिएकाे छैन । दुई दिनसम्म खोज्दा पनि गाडी नभेटिएपछि आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो गाडी भासिएकाे हाे । भासिएर हराएकाे ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी स्थानीय हरिराम राईको हो । गाडीमा घाँस काट्ने मेसिन रहेकाे थियाे ।

गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ । खाल्डो धमिलो पानीले भरिएको छ ।

गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् भने सडककै छेउँमा पानी तान्ने बोरिङ गाडिएको छ ।

अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल भएकाे र पहिले गोरु पनि हराएकाे स्थानीयले बताएका छन् ।

गाडी हराएको घटनाबारे छलफल गर्न दुई दिनपछि हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार