काठमाडौँ । नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले युवा पुस्ता (कन्टेन्ट क्रिएटर) सँग सहकार्य गर्ने भएकाे छ । यूवा पुस्ताकाे साथ लिने उद्देश्यले बोर्डले मंगलबार काठमाडौंमा ‘कन्टेन्ट क्रिएटर र प्याकेज क्युरेटर (पर्यटन व्यवसायीहरू)काे संयोजन’ कार्यक्रमकाे आयोजना गरेको हो ।
पर्यटन बोर्डले नयाँ गन्तव्यहरूको खाेजी गरी पर्यटकीय सामग्री उत्पादन गर्ने ‘कन्टेन्ट क्रिएटर’ र गन्तव्यको प्याकेज बनाउने व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याएको हो ।
कार्यक्रममा सातै प्रदेशका विभिन्न आकर्षक तर कम चर्चित गन्तव्यहरूको प्रचारात्मक भिडियो सामग्री प्रदर्शन गरिएकाे थियाे । जसमा सुदूरपश्चिमा रहेकाे अपि हिमालकाे बारेमा हेमन्त राई, कर्णालीकाे बारेमा सिर्जना ओली ‘सिज्जु’, लुम्बिनीबाट पल्लव पण्डित, गण्डकीबाट हेमन्त भण्डारी (नेपाल एट्थ वन्डर), बागमति र मधेस प्रदेशबाट मनिष रूचाल (घुमन्ते) र काेशी प्रदेशबाट मुन्धुम ट्रेलकाे बारेमा मनाेज आचार्यले नयाँ तथा कम प्रचारित गन्तव्यहरूको बारेमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय विश्वभर पर्यटनको प्रवृत्ति परिवर्तन भइरहेकाले नेपालले पनि नयाँ गन्तव्यहरूको पहिचान र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘अब प्रविधिको प्रयोग गर्दै युवा पुस्तालाई समेटेर प्रचार–प्रसारमा नयाँ दिशा दिनुपर्छ । कन्टेन्ट क्रिएटर’का रूपमा क्रियाशील युवाहरूले खोजी गरेका स्थानहरूको विशेषता र सम्भावनालाई प्रचार–प्रसार गर्न उनीहरूलाई पर्यटन व्यवसायीसँग जोड्ने प्रयास गरिएको हो ।’
जोशीले आगामी दिनमा क्रिएटरहरूसँग मिलेर नेपालको पर्यटनलाई नयाँ ढंगले परिकल्पना गर्न चाहेकाे समेत उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि कन्टेन्ट क्रिएटरहरूको योगदानको प्रशंसा गर्दै कन्टेन्ट क्रियटरसँग सहकार्य गर्न उत्साहित रहेकाे बताए । साथै कन्टेन्ट क्रिएटरले खिचेका भिडियो सामग्रीहरू बोर्डले किनेर अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने समेत उल्लेख गरे ।

