काठमाडाैँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा मृत भेटिएका ओम प्रकाश राईकाे हत्या भएकाे आशंका प्रहरीले गरेकाे छ ।
राईकाे दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै रहेकाे बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो ।
प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

