बीबीसीद्वारा निर्मित Tiger Island वृत्तचित्रको विशेष प्रदर्शनीसँगै बाघको दुर्लभ व्यवहार विश्वमाझ

spot_img

काठमाण्डौं: नेपालको विश्वप्रसिद्ध बाघ संरक्षण प्रयासले बीबीसीको वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभिल्ड’ (Tiger Island: A Hidden World Revealed) को विशेष प्रदर्शनीसँगै पुन: नयाँ अन्तर्राष्ट्रिय मान्यता पाएको छ, जसले बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस वरपरका क्षेत्रमा बाघका पहिले कहिल्यै नदेखिएका व्यवहारहरू कैद गरेको छ।

पर्यटन समाचार पोर्टल ‘टुरिजम इन्फो नेपाल’ ले काठमाडौँको ठमेलस्थित अलोफ्ट होटलमा बुधबार यस वृत्तचित्रको विशेष प्रदर्शनी (स्क्रिनिङ) आयोजना गरेको थियो। उक्त कार्यक्रममा पर्यटन तथा संरक्षण क्षेत्रका प्रतिनिधि, पर्यटन ब्यावसायी, सरकारी अधिकारीहरू गरी १०० भन्दा बढीको उपस्थिति रहेको थियो।

बीबीसी र पीबीएस को सहकार्यमा निर्मित यो वृत्तचित्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका दुर्गम नदीका टापु तथा सामुदायिक वन क्षेत्रहरूमा छायाङ्कन गरिएको हो। वृत्तचित्रले गोमा, माला र जुगिनी नाम दिइएका तीन पोथी बाघको जीवनलाई पछ्याउँदै उनीहरूको सामाजिक अन्तरक्रियाका अभूतपूर्व दृश्यहरू प्रस्तुत गरेको छ।

निर्माण टोलीले पोथी बाघहरूले डमरुको स्याहारसुसारमा एक-अर्कालाई सहयोग गरेको र आश्चर्यजनक रूपमा भाले बाघहरूले पनि डमरुहरूको संरक्षण र हेरचाहमा सक्रिय भूमिका खेलेका दृश्यहरूलाई उजागर गरेको छ। यी निष्कर्षहरूले बाघ एक्लै बस्ने स्वभावका हुन्छन् र उनीहरूको अभिभावकीय भूमिकाबारे रहँदै आएको दीर्घकालीन वैज्ञानिक मान्यतालाई चुनौती दिएका छन्।

यो परियोजना सन् २०२२ को अन्त्यतिर सुरु भएको थियो, जहाँ बीबीसीको टोलीले बर्दियामा करिब ३ वर्षको समय लिएर पोथी बाघहरूको अध्ययन र छायाङ्कन गरेको थियो। यी अनौठा तथ्य र दृश्यहरू कैद गर्न टोलीले सूक्ष्म फिल्ड ट्र्याकिङका साथै ड्रोन, थर्मल क्यामेरा र नाइट-भिजन उपकरणजस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरेको थियो। वृत्तचित्रको दोस्रो भागमा राष्ट्रिय निकुञ्जको भित्री भागमा बाघले रातिको समयमा शिकार गरेको दुर्लभ दृश्य समावेश छ।

कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गर्नुभएको थियो। कार्यक्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, सांसद श्रीधर पोखरेललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

उद्घाटनका क्रममा जोशीले यो वृत्तचित्र नेपालको संरक्षण कोशेढुङ्गालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न प्रभावकारी हुने बताउनुभयो। उहाँले वन्यजन्तु संरक्षणलाई दिगो तथा प्रकृतिमा आधारित पर्यटनसँग जोड्दा नेपाललाई विश्व बजारमा अझ सुदृढ रूपमा स्थापित गर्न सकिने सुझाव दिनुभयो।

प्रदर्शनीपश्चात् सजल प्रधानको सहजीकरणमा अन्तरक्रियात्मक छलफल (प्यानल डिसक्सन) आयोजना गरिएको थियो, जसमा बर्दियाका प्रकृति पथप्रदर्शक (नेचर गाइड) सुशीला महतारा र मञ्जु महतारा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले छायाङ्कनका क्रममा बाघको अनुगमन र ट्र्याकिङ गर्दाका आफ्ना प्रत्यक्ष अनुभवहरू साझा गर्नुभएको थियो।

छलफलका क्रममा सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्यालाई बढाएर हाल ४०० भन्दा बढी पुर्‍याई बाघको सङ्ख्या करिब चौबर बनाउन नेपालले गरेको प्रगति र वन्यजन्तु पुनरुत्थानमा विश्वव्यापी नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको थियो।

यस सफलताका बाबजुद सहभागीहरूले बाघको सङ्ख्या वृद्धि भएसँगै नयाँ चुनौतीहरू, विशेष गरी मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका समस्याहरू थपिएको तर्फ ध्यान आकर्षण गराए। उनीहरूले संरक्षण सफलतालाई दिगो बनाउन संरक्षित क्षेत्र वरपर बस्ने स्थानीय समुदायको सुरक्षा, कल्याण र सक्रिय सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा बर्दियाको बाघमा आधारित पर्यटनको बढ्दो साख नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण स्तम्भ भएको निष्कर्ष निकालियो। कार्यक्रमको समापन प्रश्नोत्तर सत्र तथा विशिष्ट अतिथि एवं प्यानलका सहभागीहरूलाई मायाको चिनो प्रदान गरी गरिएको थियो।

टुरिजम इन्फो नेपालका प्रबन्ध निर्देशक विश्व भण्डारीले नेपालको वन्यजन्तु संरक्षणका सफलताका कथाहरू विश्वसामु पुर्‍याउनाले जैविक विविधताप्रतिको प्रतिबद्धतालाई बलियो बनाउने मात्र नभई दिगो पर्यटनको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

ताजा समाचार