काठमाडौँ: पछिल्लो एक सातामा २५० भन्दा बढी आरोहीले सगरमाथा चुचुरोमा पुगेर सफल आरोहण गरेर फर्किएका छन् । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता बुधबारसम्म उल्लिखित सङ्ख्यामा आरोही र सहयोगी शेर्पासमेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन् ।
विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये सगरमाथाबाट मात्रै एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील सेर्मा भन्नुहुन्छ “यस वर्ष सगरमाथा आरोहणका लागि अब १० दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन् । पछिल्लो तीन दिनयता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकिँदै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको लाम लागेको छ,” ।
बुधबार मात्रै करिब दुई सय हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको दुई दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ४९४ जनाले अनुमति पाएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि नेपालसहित ५५ देशका ४९४ आरोहीले अनुमति लिएका हुन् ।
विश्वविख्यात आरोही कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथामा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङदावा (पादावा) शेर्पा ३० औँ पटक सर्वोच्च शिखरमा पुग्नुभएको छ । सोलुखुम्बुको पाङ्बोचेका ४९ वर्षीय शेर्पाले ३० औँ पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान बनाउनुभएको छ ।

