घरेलु मैदानमा नेपालको कीर्तिमानी ब्याटिङ, शीर्षस्थानको अमेरिका १२२ रनले पराजित

spot_img

काठमाडौँ – आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेको छ। नेपालले लिगको शीर्षस्थानमा रहेको बलियो टोली अमेरिकालाई १२२ रनको लज्जास्पद हार चखाएको हो।

जारी त्रिकोणीय सिरिजका ४ मध्ये ३ खेल जित्दै नेपालले घरेलु मैदानमा आफ्नो बलियो पुनरागमन प्रमाणित गरेको छ। यो जितसँगै नेपाल २८ खेलबाट २२ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा यथावत छ। पराजित अमेरिका ३८ अंकसहित शीर्षस्थानमै कायमै छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रनको विशाल योगफल तयार पारेको थियो। कीर्तिपुर मैदानमा नेपालले बनाएको यो अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल हो। यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३१० रन बनाएको थियो। ओडीआईमा नेपालको सर्वोच्च योगफल भने स्कटल्याण्डविरुद्ध ३२१ रन हो।

नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए। यही सिरिजबाट डेब्यु गरेका इशानले तेस्रो खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरे। उनले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ८४ रन बनाए। विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रले मात्र ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन जोडे। ओडीआईमा उनको यो नवौँ अर्धशतक हो। कप्तान रोहित पौडेलले ४६ रन बनाउँदै इशानसँग तेस्रो विकेटका लागि १ सय १० रनको बलियो साझेदारी गरे। कुशल भुर्तेल (२९ रन) र आसिफ शेख (४३ रन) ले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुवात दिलाएका थिए। अमेरिकाका शुभम रान्जनेले ३ विकेट लिए भने रुसिल उगारकर र मिलिन्द कुमारले समान १-१ विकेट हात पारे।

३ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका नेपालको धारिलो बलिङसामु निरिह देखियो। पूरा ओभर खेल्न नसकेको अमेरिका ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनमा समेटियो।

नेपालले सुरुवाती ओभरदेखि नै खेलमा दबाब बनाएको थियो। तीब्र गतिका बलर सोमपाल कामीले अमेरिकाका ओपनर स्मित पटेललाई शून्य रनमै आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। सयान जहाङ्गीर (२७ रन) र कप्तान सेहान जयसुर्या (२६ रन) ले दोस्रो विकेटका लागि ५३ रन जोडे पनि उनीहरूलाई क्रमशः सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले पभेलियन फर्काए। त्यसपछि मिलिन्द कुमार (१२), शुभम रान्जने (२) र साइतेजा मुकामल्ल (२२) सस्तैमा आउट हुँदा अमेरिका ९४ रनमा ६ विकेट गुमाउँदै संकटमा पर्यो। आठौँ विकेटका लागि सञ्जय कृष्णमुर्ति (५६ रन) र नोसथुस केन्जिके (२९ रन) ले ७० रनको साझेदारी गर्दै हार टार्ने प्रयास गरे पनि गुल्सन झाले सञ्जयलाई आउट गर्दै नेपाललाई जिततर्फ डोऱ्याए। अन्त्यमा नोसथुस दीपेन्द्रको शिकार भएसँगै नेपालले ऐतिहासिक जित दर्ता गर्यो।

नेपालको जितमा ब्याटिङसँगै बलिङ प्रदर्शन पनि अब्बल रह्यो। स्टार लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै मात्र ३० रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २-२ विकेट लिए भने सोमपाल कामीको नाममा १ विकेट रह्यो।

सम्बन्धित समाचार

ताजा समाचार