काठमाण्डौं । शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान नसुकेपछि आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ । खेल रद्द भएसँगै नेपालको यू-१९ विश्वकपमा पुग्ने सपना अधुरै रहेको छ ।
छनोट प्रतियोगितामा तीन/तीन खेल जितेका नेपाल र अफगानिस्तान आज आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए । तर मौसमले साथ नदिएपछि रनरेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।
नेपाल र अफगानिस्तानको खेल शनिबार बिहान ९ बजेबाट सुरु हुने कार्यतालिका रहेको थियो ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो ।

