ऐतिहासिक जित दर्ता गर्दै ‘रोड टु युएफसी’ (Road to UFC) को फाइनलमा पुगेका नेपाली मिक्स मासल आर्ट्स (एमएमए) फाइटर रबिन्द्र ढाँट र जापानी फाइटर रियो ताजिमा (Ryo Tajima) बीचको उपाधि भिडन्त अस्ट्रेलियामा हुने सम्भावना देखिएको छ।
अस्ट्रेलियाका सिड्नी वा मेलबर्नजस्ता नेपाली समुदायको ठूलो उपस्थिति रहेका सहरहरूमा उक्त फाइनल प्रतिस्पर्धा गराउने तयारी भइरहेको बताइएको छ। दुई फाइटरहरूबीचको यो बहुप्रतीक्षित भिडन्त आगामी डिसेम्बर २०२६ वा २०२७ को सुरुवाततिर हुने अपेक्षा गरिएको छ।
यसअघि सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डकलाई पराजित गर्दै रबिन्द्रले फाइनलमा स्थान बनाएका हुन्। यदि फाइनलमा ढाँटले जापानी फाइटर ताजिमालाई पराजित गरेमा उनी विश्वको सबैभन्दा ठूलो एमएमए संस्था ‘युएफसी’ (UFC) सँग व्यावसायिक सम्झौता (Contract) गर्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

