नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्राप्त गर्ने कम्पनीहरूको घोषणा गरेको छ।
क्यानले बोलपत्र र खरिद प्रक्रिया सम्पन्न गरी विजेता कम्पनीहरूको नाम सार्वजनिक गरेको हो। यस प्रक्रियाअनुसार विश्वव्यापी ओटीटी अधिकार नेट्टिभी प्रा. लि. ले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ भने नेपाल क्षेत्रका लागि लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रा. लि. ले १४ करोड ६४ लाख रुपैयाँमा जितेको छ।
त्यस्तै, प्रतियोगिताको टिकटिङ अधिकार ८५ लाख रुपैयाँमा इसेवा लिमिटेडले प्राप्त गरेको छ। सहमतिअनुसार टिकट बिक्रीबाट हुने कुल आम्दानीको ९५ प्रतिशत रकम क्यानलाई र ५ प्रतिशत रकम इसेवालाई प्राप्त हुनेछ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा अधिकार प्राप्त गर्ने सबै साझेदारहरूलाई बधाई दिँदै एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

