नेपाली मिक्स माशल आर्ट्स (एमएमए) का उदीयमान तारा रवीन्द्र ढाँट चीनको सांघाईमा हुने प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को ब्यान्तमवेट सेमिफाइनलको अन्तिम तयारीमा जुटेका छन्। आगामी भदौ १२ (अगस्ट २८) मा हुने उक्त महत्त्वपूर्ण भिडन्तअघि उनी आध्यात्मिक शक्ति र उच्च आत्मबलका साथ अभ्यासमा तल्लीन देखिएका छन्।
प्रतिस्पर्धाको तयारीका क्रममा ढाँटले हनुमान चालीसा गाउँदै आफूलाई मानसिक र शारीरिक रूपमा तयार पारिरहेका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। ढाँटले आस्था, विश्वास र कठोर मिहिनेतलाई एकसाथ अघि बढाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्ने लक्ष्य लिएका छन्।
उक्त सेमिफाइनल भिडन्तमा रवीन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्नेछन्। विश्वकै सबैभन्दा ठूलो एमएमए संस्था ‘युएफसी’मा प्रवेश पाउने ऐतिहासिक अवसरको संघारमा रहेका ढाँटका लागि यो फाइट अत्यन्तै निर्णायक मानिएको छ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रिङमा उत्रिन लागेका ढाँटको यस भिडन्तलाई लिएर स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी नेपालीहरूले उच्च उत्सुकताका साथ हेरेका छन्।

