नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अझै पनि आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्।
प्रचण्डले आफूले संसदमा लामिछानेको बचाउ गरेको र उनका कानुनी तथा राजनीतिक अप्ठ्याराहरूका बीच सार्वजनिक रूपमै दह्रो साथ दिएको स्मरण गराएका छन्। “संसददेखि सडकसम्म मैले उहाँको पक्षमा आवाज उठाएको छु, त्यो गुन उहाँले अझै तिर्न बाँकी नै छ,” प्रचण्डले भने
यसैगरी, प्रचण्डले रास्वपाका अन्य शीर्ष नेताहरूसँग पनि आफ्नो निरन्तर संवाद भइरहेको बताएका छन्। उनका अनुसार रास्वपाका उपसभापति डिपी अर्याल र नेता विराजभक्त श्रेष्ठसँग उनी नियमित सम्पर्कमा रहने गरेका छन्।
सुरुवाती चरणको तुलनामा रवि लामिछानेमा राजनीतिक रूपमा थप परिपक्वता आउँदै गएको आफूले महसुस गरेको पनि पूर्वप्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। नयाँ राजनीतिक शक्ति भए पनि अनुभवसँगै लामिछाने र उनको टोलीले राजनीतिलाई बुझ्ने ढाँचामा सुधार ल्याइरहेको प्रचण्डको भनाइ छ।

