बेलायतको अक्सफोर्डशायरस्थित करिब ३७० जनाको सानो जनसंख्या रहेको पिडिङटन गाउँका बासिन्दाहरूले केन्द्रीय सरकारको नीतिका विरुद्ध बेलायतबाट अलग हुने एक प्रतीकात्मक जनमत संग्रहमा मतदान गरेका छन्।
बेलायती गृह मन्त्रालयले गाउँ नजिकैको बिसेस्टर ग्यारिसन सैन्य क्षेत्रमा करिब १,२५० जना पुरुष शरणार्थीहरूलाई राख्ने योजना अघि सारेपछि स्थानीयहरू आक्रोशित बनेका हुन्। गाउँको कुल जनसंख्याभन्दा शरणार्थीको संख्या तीन गुणा बढी हुने र पूर्वसूचना वा परामर्शविना नै निर्णय लाद्न खोजिएको भन्दै स्थानीयहरूले विरोध जनाएका हुन्।
९६ प्रतिशत गाउँलेले “स्वतन्त्रता” को पक्षमा मतदान गरेको यो कदम कानुनी रूपमा अलग हुनका लागि नभई स्थानीय सुरक्षा, जनस्वास्थ्य र पूर्वाधारमा पर्ने चापप्रति सरकारको ध्यानाकर्षण गराउन चालिएको साङ्केतिक कदम मात्र हो।

