प्रकृतिपूजकको अस्तित्व अस्वीकार्ने राज्य, दोष भने धर्म परिवर्तनलाई?

spot_img

नेपालको आधुनिक राजनीतिक इतिहास करिब २५८ वर्षअघि शाहवंशीय एकीकरणबाट सुरु भएको मानिन्छ। तर, यो भूगोलको सांस्कृतिक र मानव इतिहास त्यतिमा मात्र सीमित छैन।

हिमवत खण्डमा इन्डो-आर्यन (खस-आर्य) सभ्यताको बाहुल्य हुनुभन्दा धेरै अघिदेखि नै मङ्गोलोइड मूलका आदिवासी जनजातिहरू, विशेष गरी किराँतीहरू (राई, लिम्बू, याक्खा, सुनुवार आदि), आफ्नै मौलिक मुन्धुम, प्रकृतिपूजक दर्शन र सहअस्तित्वको सभ्यतासहित बसोबास गर्दै आएका थिए। विडम्बना के छ भने, आजको आधुनिक र धर्मनिरपेक्ष भनिएको नेपालमा पनि बहुसंख्यक हिन्दु समाजले आदिवासी जनजातिहरूलाई जबरजस्ती आफ्नै धार्मिक ढाँचामा हेर्ने र उनीहरूबाट हिन्दु सरहकै आचरणको अपेक्षा गर्ने अज्ञानता प्रदर्शन गरिरहेको छ।

हालै जनकपुरको जानकी मन्दिरमा सांसद हर्क साम्पाङ र उहाँका समर्थकहरूमाथि भएको दुर्व्यवहार कुनै एकांकी घटना होइन। यो त नेपाली समाजमा गहिरोसँग जरो गाडेर बसेको सांस्कृतिक संकीर्णता र संरचनात्मक विभेदको एउटा प्रत्यक्ष उदाहरण मात्र हो। दैनिक जीवनमा, विशेष गरी शैक्षिक संस्था र कार्यस्थलहरूमा, आदिवासी किराँती विद्यार्थी तथा कर्मचारीहरूले यस्ता अनेकौँ विभेद र मानसिक दबाबको सामना गरिरहेका छन्।

आफ्ना प्राध्यापक वा सहकर्मीहरूलाई आफू किन इन्डो-आर्यन हिन्दुभन्दा भिन्न छु र आफ्नो मौलिक पहिचान के हो भनेर स्पष्टीकरण दिँदैमा किराँती युवाहरूको ऊर्जा खर्च भइरहेको छ। फरक राजनीतिक, सांस्कृतिक वा दार्शनिक विचार राख्नासाथ वा आफ्नो मौलिक सभ्यताको वकालत गर्नासाथ आदिवासीहरूलाई सजिलै ‘हिन्दुविरोधी’, ‘डलरवादी’ वा ‘क्रिश्चियन’ को बिल्ला भिराइदिने प्रवृत्तिले समाजलाई थप ध्रुवीकृत बनाइरहेको छ।

पूर्वी नेपालका राई-लिम्बूहरू ठूलो संख्यामा क्रिश्चियन धर्ममा रूपान्तरण भए भनेर चिन्ता र आरोप लगाउनेहरूले नै ती समुदायलाई आफ्नो मौलिक ‘किराँत’ वा ‘प्रकृतिपूजक’ पहिचान जोगाउन कति गाह्रो छ भन्ने कहिल्यै बुझ्न चाहेनन्। नेपालका धेरै सरकारी निकाय, विद्यालय तथा कलेजका फारमहरूमा अझै पनि क्रिश्चियन वा मुस्लिम धर्मको विकल्प भेटिए पनि ‘किराँत’ वा ‘एनिमिस्ट (प्रकृतिपूजक)’ सूचीकृत गर्न गाह्रो हुन्छ वा विकल्प नै राखिँदैन। एकातिर राज्य र बहुसंख्यक समाजले मौलिक पहिचानको अस्तित्वलाई अस्वीकार गर्ने, अनि अर्कोतिर धर्म परिवर्तन गर्दा दोषी ठहऱ्याउने यो दोहोरो चरित्र आफैँमा विरोधाभासपूर्ण छ।

इन्डो-आर्यन बहुसंख्यक समाजले २५८ वर्षको इतिहासभन्दा अगाडि बढेर यो भूगोलका प्राचीन सभ्यता, जनजातिहरूको मौलिक इतिहास र मङ्गोलोइड मूलका मानिसहरूको आफ्नै स्वतन्त्र विचार र दर्शन हुन सक्छ भन्ने सत्यलाई कहिले स्वीकार गर्ने? के भिन्न पहिचान र विचार बोक्नु नै राष्ट्रविरोधी हुनु हो? जबसम्म बहुसंख्यक समाजले आफ्नो अज्ञानता त्यागेर नेपालको बहुसांस्कृतिक र बहुधार्मिक जगलाई दिलैदेखि स्वीकार गर्दैन, तबसम्म वास्तविक सामाजिक सद्भाव र समानताको परिकल्पना अधुरै रहनेछ।

सम्बन्धित समाचार

ताजा समाचार