विश्व फुटबलका स्टार स्ट्राइकर अर्लिङ हाल्यान्डको ‘भाइरल क्रेज’ र सन् २०२६ को फिफा विश्वकपमा नर्वेको ऐतिहासिक प्रदर्शनका कारण युरोपभरि नर्वेली राष्ट्रिय टोलीको जर्सीको अभूतपूर्व अभाव देखिएको छ।
विश्वकपको क्वाटरफाइनलमा इङ्गल्याण्ड सँगको महाभिडन्त अघि नर्वेको रातो होम जर्सी र ऐतिहासिक ब्ल्याकआउट अवे जर्सी युरोपका सबै आधिकारिक स्टोरहरूमा पूर्ण रूपमा ‘सोल्ड आउट’ भएका छन्।
नर्वेजियन फुटबल एसोसिएसनले यस वर्ष जर्सीको मागलाई लिएर गरिएको आफ्नो पूर्वानुमान निकै कमजोर साबित भएको स्वीकार गरेको छ। संघका अनुसार यसपटक मागले विगतका सबै रेकर्डहरू तोडिदिएको छ।
नर्वेको राजधानी ओस्लोस्थित प्रमुख खेलकुद स्टोर ‘तोर्सोभ स्पोर्ट’मा जर्सीको नयाँ स्टक आउने समाचार सार्वजनिक भएपछि जर्सी किन्नका लागि प्रशंसकहरू रातिदेखि नै कुर्सीहरू लिएर सडकमा लाइन लागेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त लाइन करिब ६०० मिटर लामो थियो र धेरै प्रशंसकहरू १२ घण्टाभन्दा बढी समय कुरेर बसेका थिए। स्टोरका प्रबन्धक एन्डर्स लिलेबर्गले आफ्नो खेलकुद क्षेत्रको लामो करियरमा यस्तो ‘क्रेजी र जङ्गली’ वातावरण कहिल्यै नदेखेको बताएका छन्।
जर्सी उत्पादक बहुराष्ट्रिय कम्पनी नाइकीको आधिकारिक वेबसाइट र स्टोरहरूमा नर्वेको जर्सी हप्तौंदेखि आउट अफ स्टक छ। जर्सी कतै नपाइए पछि प्रशंसकहरूले रिसेल प्लेटफर्महरूमा यसको सहारा लिइरहेका छन्।
१९९८ को विश्वकपटिका पछि पहिलो पटक विश्वकपमा फर्किएको नर्वेले यसपटक प्रतियोगितामा बलियो देश ब्राजिललाई पाखा लगाउँदै ऐतिहासिक रूपमा पहिलो पटक क्वाटरफाइनलको यात्रा तय गरेको छ। छनोट चरणमा १६ गोल गरेका हाल्यान्डले विश्वकपको मैदानमा पनि आफ्नो जादुमयी प्रदर्शन (इराक र सेनेगलविरुद्ध लगातार दुई-दुई गोल) जारी राखेका छन्। मैदान भित्रको गोल वर्ष र मैदान बाहिर सामाजिक सञ्जालमा उनको भाइरल क्रेजकै कारण अहिले नर्वे टोलीको जर्सी फुटबल प्रशंसकहरूको पहिलो रोजाइ बनेको छ।

