फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘K’ को आफ्नो दोस्रो महत्त्वपूर्ण खेलमा आज पोर्चुगलले उज्बेकिस्तानको सामना गर्दैछ।
यो रोमाञ्चक खेल नेपाली समय अनुसार आज राति १०:४५ बजे अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ। आफ्नो पहिलो खेलमा डीआर कंगोसँग १–१ को अप्रत्याशित बराबरीमा रोकिएको पोर्चुगललाई नकआउट चरणको यात्रा सुरक्षित गर्न आजको खेलमा स्पष्ट जित निकाल्नै पर्ने दबाब छ। पहिलो खेलमा जोआओ नेभिसले सुरुवाती गोल गरे पनि टोलीले अग्रता जोगाउन नसकेको र कप्तान क्रिस्टियानो रोनाल्डो निकै शान्त देखिएकाले आज पोर्चुगल आफ्नो आक्रामक रणनीतिमा सुधार गर्दै मैदान उत्रने अनुमान गरिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने उज्बेकिस्तान विरुद्धको खेल क्रिस्टियानो रोनाल्डोका लागि केवल एउटा खेल मात्र होइन, बरु यो उनको खेल जीवनकै एउटा ठूलो परीक्षा बन्ने देखिएको छ। लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि ह्याट्रिक गर्दै विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएको भोलिपल्टै, विश्व फुटबलको नजर अब पोर्चुगिज आइकन रोनाल्डो माथि सोझिएको छ। पहिलो खेलमा डीआर कंगो विरुद्ध ९० मिनेट मैदानमा बिताउँदा केवल २ वटा सट प्रहार गर्न सकेका रोनाल्डो निकै सुस्त देखिएका थिए, जसका कारण उनलाई टोलीबाट ड्रप गर्नुपर्नेसम्मका टिकाटिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सुरु भइसकेका छन्।
लगातार १० अन्तर्राष्ट्रिय खेलहरूमा गोल गर्न नसकेका ४१ वर्षीय सुपरस्टारका लागि आजको खेल यो खडेरी तोड्ने उपयुक्त अवसर हो। उज्बेकिस्तानमा रोनाल्डोलाई भगवान सरह मान्ने ठूलो समर्थक वर्ग छ, तर तिनै प्रशंसकहरूको देश आज रोनाल्डोको बाटोमा तगारो बन्ने दाउमा छ। रोबर्टो मार्टिनेजको पोर्चुगिज टोलीले नकआउट चरणमा सहजै पुग्नका लागि आज राति १०:४५ बजे (नेपाली समय) ह्युस्टन स्टेडियममा जित निकाल्नै पर्ने हुनाले कप्तान रोनाल्डोले आफ्नो जादुमयी लय पुनः देखाउनुको विकल्प छैन।

