तीव्र राजनीतिक दबाबपछि बेलायती प्रधानमन्त्री किअर स्टारमरद्वारा राजीनामा घोषणा

spot_img

बेलायतका प्रधानमन्त्री किअर स्टारमरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

सन् २०२४ मा लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर प्रधानमन्त्री बनेका ६३ वर्षीय स्टारमरले आफ्नै पार्टीका सांसद र क्याबिनेट मन्त्रीहरूको तीव्र दबाबपछि सोमबार १० डाउनिङ स्ट्रिटबाहिर पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

पछिल्लो समय देशमा देखिएको आर्थिक सुस्तता, स्थानीय चुनावमा पार्टीले ब्यहोर्नुपरेको ठूलो हार र विभिन्न नीतिगत उतारचढावका कारण उनी लगातार आलोचनाको घेरामा पर्दै आएका थिए। हालै सम्पन्न संसदीय उप-चुनावमा उनका प्रतिद्वन्द्वी एन्डी बर्नहमले सानदार जित निकालेपछि स्टारमरमाथि पद छाड्न दबाब निकै चुलिएको थियो।

प्रधानमन्त्री स्टारमरले आफूले चालेका हरेक कदम देश र जनताकै हितका लागि भएको बताउँदै लेबर पार्टीको नयाँ नेता चयन नभएसम्म आफू कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा बहाल रहने स्पष्ट पारेका छन्। उनले आफ्नो राजीनामा बारे राजा चार्ल्स तृतीयलाई समेत जानकारी गराइसकेका छन्।

लेबर पार्टीको नयाँ नेतृत्वका लागि आगामी जुलाईदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ र नयाँ नेता चुनिएसँगै बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ। यो राजीनामासँगै बेलायतमा पछिल्लो १० वर्षमा सातौँ पटक प्रधानमन्त्री परिवर्तन हुन लागेको छ, जसले त्यहाँको राजनीतिक अस्थिरतालाई फेरि एकपटक सतहमा ल्याइदिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार