विश्वकप २०२६: स्पेनको सानदार जित, साउदी अरेबिया ४-० ले पराजित

spot_img

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘H’ को रोमान्चक खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० को सानदार जित दर्ता गरेको छ। एटलान्टा स्टेडियममा भएको यस खेलमा स्पेनिस टोली खेलको सुरुदेखि नै साउदी अरेबियामाथि हाबी भएको थियो। पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले यस खेलमा उत्कृष्ट पुनरागमन गर्दै आफ्नो वास्तविक लय प्रदर्शन गर्‍यो।

स्पेनका लागि खेलको १०औँ मिनेटमा युवा स्टार लामिन यमालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यस गोलसँगै १८ वर्षीय यमाल विश्वकपको खेलमा सुरुवाती गोल गर्ने ब्राजिलियन लिजेन्ड पेलेपछिका दोस्रो कान्छा खेलाडी बनेका छन्। त्यसपछि मिकेल ओयार्जाबालले उत्कृष्ट प्रदर्शन गर्दै खेलको २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गरेर पहिलो हाफमै स्पेनलाई ३-० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफको सुरुवातमै अर्थात् ४९औँ मिनेटमा साउदी अरेबियाका हसन अल-तम्बाक्तीबाट आत्मघाती गोल हुन पुगेपछि स्पेनको अग्रता ४-० पुग्यो। साउदी अरेबियाले खेलमा फर्कने केही प्रयास गरे पनि स्पेनको बलियो रक्षापंक्ति र मिडफिल्डसामु उनीहरूको जादु चल्न सकेन। खेलको अन्तिम समयमा फेरान टोरेसले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले अफसाइड घोषित गरिदिएका कारण स्पेन पाँचौँ गोल गर्नबाट चुक्यो। यस जितसँगै स्पेनले समूह चरणमा महत्त्वपूर्ण ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ भने साउदी अरेबियाले अर्को खेलमा केप भर्डको सामना गर्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार