‘रङ नम्बर’ को कलले निम्त्यायो बीभत्स हत्या: पाटनमा दुई दाजुभाइको हत्या, हत्यारा पक्राउ

spot_img

एक सामान्य ‘रङ नम्बर’ को फोन कलले निम्त्याएको विवादले अन्ततः दुई दाजुभाइको ज्यान लिएको छ। ललितपुरको पर्यटकीय क्षेत्र पाटन कृष्ण मन्दिर अगाडि बुधबार साँझ भएको छुरा प्रहारबाट ३३ वर्षीय सुमित नेम्वाङ र २५ वर्षीय सिर्जन नेम्वाङको हत्या भएको हो।

इमाडोल बस्दै आएका नेम्वाङ दाजुभाइले फोन गर्ने क्रममा झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा कल पुगेको थियो। चिनजान नभएका दुई पक्षबीच फोनमै केहीबेर भनाभन र विवाद भयो। विवाद बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिए।

आफूहरूबाट गल्ती भएको महसुस गरी माफी माग्न र विवाद सुल्झाउन भनी नेम्वाङ दाजुभाइ पाटन पुगेका थिए। तर, उनीहरूले कुरा गर्न खोज्दाखोज्दै मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले एक्कासि सिर्जनमाथि छुरा प्रहार गरे। भाइलाई बचाउन अघि सरेका दाइ सुमितमाथि पनि सञ्जीवले अन्धाधुन्ध छुरा प्रहार गरे। छुरा प्रहारबाट गम्भीर घाइते भएका दुवै दाजुभाइको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

मृतक नेम्वाङ दाजुभाइ लन्डनमा रहेकी आमा भेट्न जाने तयारीमा थिए। उनीहरू जाने दिन नजिकिँदै गर्दा एउटा सानो फोन कलको विवादले उनीहरूको सपना र जीवन दुवै समाप्त पारिदिएको छ।

घटनास्थलमा प्रहरी पुग्दा दुवै दाजुभाइ रक्ताम्मे अवस्थामा ढलेका थिए। हत्यापछि रगत लतपतिएको चक्कु बोकेर नजिकैको एक रेस्टुरेन्टमा लुक्न खोज्दै गर्दा अभियुक्त सञ्जीव नेपालीलाई एक महिला प्रहरीले साहसका साथ नियन्त्रणमा लिन सफल भइन्। पक्राउ गर्ने क्रममा सञ्जीवले ती प्रहरीमाथि समेत दुर्व्यवहारको प्रयास गरेका थिए।

प्रहरीले सञ्जीवका सहयोगी गगन सुनारलाई पनि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र अभियुक्तहरूमाथि कडा कानुनी कारबाही अगाडि बढाइने जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार