नेपाली कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्च अदालतमा आज महत्त्वपूर्ण सुनुवाइ

spot_img

नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्व र आधिकारिकता सम्बन्धी विवादको छिनोफानोका लागि आज सर्वोच्च अदालतमा महत्त्वपूर्ण सुनुवाइ हुँदैछ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमाथि आज बहस हुन लागेको हो।

गएको पुसमा गगन थापा पक्षले आयोजना गरेको ‘विशेष महाधिवेशन’ बाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि कांग्रेसभित्रको आन्तरिक कलह न्यायालयसम्म पुगेको हो। देउवा पक्षले उक्त महाधिवेशनलाई “अवैधानिक र विधानविपरीत” भन्दै अस्वीकार गर्दै आएको छ।

यसअघि निर्वाचन आयोगले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको समर्थन रहेको र विधानको प्रक्रिया पुगेको भन्दै थापा नेतृत्वको समितिलाई आधिकारिक रूपमा दर्ता गरेको थियो।

आज सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा गगन थापा नेतृत्वको कार्यसमितिका कामकारबाही रोकिनेछन्, जसले गर्दा पार्टी पुन: अन्योलको भुमरीमा फस्न सक्छ। यदि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेमा थापा पक्षलाई पार्टी सञ्चालन गर्न र आसन्न निर्वाचनको तयारी गर्न कानुनी रूपमा बाटो खुल्नेछ।

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीभित्रको यो शक्ति सङ्घर्षले राष्ट्रिय राजनीतिमै ठुलो प्रभाव पार्ने देखिएकाले आजको सुनुवाइलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार