अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षका लागि १५ खर्ब डलरको विशाल रक्षा बजेट प्रस्ताव गरेका छन्, जुन अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सैन्य लगानी मानिएको छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको यस प्रस्तावमा रक्षा खर्चमा ४४ प्रतिशतले वृद्धि गर्दै सैन्य शक्ति, तयारी र क्षमतालाई विश्वकै सर्वोत्कृष्ट बनाइराख्ने लक्ष्य राखिएको छ। यस बजेटअन्तर्गत ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा प्रणाली, सैनिकको तलबमा ७ प्रतिशत वृद्धि, अत्याधुनिक जहाज निर्माण र सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को विकासका लागि अर्बौं डलर खर्च गरिने उल्लेख छ। रक्षा मन्त्रालयले इरानसँगको जारी युद्ध सञ्चालनका लागि मात्रै थप २०० अर्ब डलर माग गरिरहेको सन्दर्भमा यो बजेट प्रस्ताव आएको हो, जसले ट्रम्प प्रशासनको आक्रामक सैन्य नीतिको संकेत गर्दछ।
यद्यपि, सैन्य शक्ति सुदृढीकरणका लागि ट्रम्पले आन्तरिक सामाजिक र वातावरणीय क्षेत्रको बजेटमा भने निर्मम कटौतीको प्रस्ताव गरेका छन्। स्वास्थ्य अनुसन्धान, विद्यालय तथा उच्च शिक्षा, नवीकरणीय ऊर्जा र न्यून आय भएका वर्गका लागि छुट्याइएको ७३ अर्ब डलरभन्दा बढीको कोषमा कैँची चलाइएको छ। विशेषगरी वातावरण संरक्षण एजेन्सीको बजेटमा ५२ प्रतिशत र विदेश मन्त्रालयको खर्चमा ३० प्रतिशत कटौती गर्ने योजनाले तीव्र बहस सिर्जना गरेको छ।

