निषेधित क्षेत्रमा अब ‘एकल पदयात्रा’ गर्न पाइने: ट्रेकिङ गाइड भने अनिवार्य

spot_img

अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकका लागि दशकौँदेखि कायम रहेको ‘समूहमा मात्र जानुपर्ने’ झन्झटिलो प्रावधानलाई हटाएको छ।

आइतबार भएको निर्णयअनुसार अबदेखि एक्लै पदयात्रा गर्न चाहने विदेशीले पनि विभागबाट अनुमति पाउनेछन्। यसअघि कम्तीमा दुई जना पर्यटक र साझेदार खोज्नुपर्ने बाध्यताका कारण धेरैले पदयात्राको अवसर गुमाउनुपरेको थियो। नयाँ व्यवस्थाअनुसार एकल पदयात्रीले अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र साथमा ‘ट्रेकिङ गाइड’ लैजानु पर्ने सर्त राखिएको छ। यसो गर्दा पदयात्रीको सुरक्षा सुनिश्चित हुनुका साथै स्थानीय स्तरमा रोजगारी पनि सिर्जना हुने विभागको अपेक्षा छ।

यसका साथै, पदयात्राको क्रममा आइपर्ने कुनै पनि आपतकालीन अवस्था वा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले नै लिनुपर्नेछ। विभागले निगरानीलाई प्रभावकारी बनाउन ‘एक गाइड बराबर बढीमा ७ जना पदयात्री’ को सीमा पनि तोकेको छ। यदि समूहमा ७ जनाभन्दा बढी भएमा थप गाइड अनिवार्य हुनेछ। पदयात्रा अनुमति प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगिएको छ, जहाँ विदेशीले आफ्नो भिसा आवेदन नम्बरका आधारमै निवेदन दिन सक्नेछन्। यो निर्णयले नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ उचाइ थप्ने र माथिल्लो मुस्ताङ, डोल्पा तथा मनास्लु जस्ता निषेधित क्षेत्रमा पर्यटकको आकर्षण अझ बढ्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार