आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आजदेखि देशभर मादक पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले मतदान हुनुभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो। निर्वाचनको समयमा हुन सक्ने सम्भावित झै-झगडा, झडप र मतदातालाई प्रभावित पार्ने गतिविधि रोक्न यो कदम चालिएको हो। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई होटल, रेस्टुरेन्ट तथा पसलहरूमा कडा निगरानी राख्न र नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न परिपत्र गरिसकेको छ। यो प्रतिबन्धसँगै अब निर्वाचनको मौन अवधि र मतदानको दिनसम्म मदिराजन्य पदार्थको ओसारपसार र कारोबार पूर्ण रूपमा बन्द रहनेछ।

