नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै उनले आफ्नो उपचारका लागि करिब ८०,००० अमेरिकी डलर (करिब १ करोड १० लाख नेपाली रुपैयाँ) लाग्ने जानकारी दिएकी छिन्।
अस्ट्रेलियाको ए-लिग अन्तर्गत वेलिङ्टन फोनिक्स बाट खेल्ने क्रममा साम्बाको दायाँ घुँडा मा गम्भीर चोट लागेको थियो। उनको पुरानो शल्यक्रिया गरिएको ठाउँमा पुनः समस्या आएकाले यो पटकको उपचार अझ जटिल हुने बताइएको छ।
साम्बाले एन्फाबाट अपेक्षित प्रशासनिक र आर्थिक सहयोग नपाएकोमा गुनासो गरेकी छिन्। एन्फाले अधिकतम ५ लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने बताएपछि उनले सार्वजनिक अपील गर्नुपरेको हो।

