गौरमा अनिश्चितकालीन कर्फ्यु जारी, नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

spot_img

रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु आज दोस्रो दिन पनि कायमै रहेको छ ।

गत बिहीबार गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती जाने क्रममा डिजे बाजा बजाउने विषयमा सुरु भएको विवादले उग्र रूप लिएपछि स्थिति सम्हाल्न शनिबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । शुक्रबार दुई पक्षबीच ६ बुँदे सहमति भए तापनि शनिबार बिहानैदेखि पुनः ढुङ्गामुढा, आगजनी र तोडफोडका घटना भएपछि प्रशासनले कर्फ्यु लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभएको छ । आज बिहान ६:३० देखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि दुई घण्टा कर्फ्यु खुकुलो पारिएको भए तापनि साढे ८ बजेपछि पुनः कडाइका साथ लागू गरिएको छ ।

तनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गौर भन्सार नाकाबाट हुने आवतजावतलाई पूर्ण रूपमा नियन्त्रण गरिएको छ भने सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारतीय सीमा सुरक्षा बल सँग समन्वय गरी निगरानी बढाइएको छ । सीमा नाकामा परिचयपत्र अनिवार्य गरिएको छ र शंकास्पद गतिविधि रोक्न सादा पोसाकका सुरक्षाकर्मीहरू समेत परिचालन गरिएका छन् । आगामी फागुन २१ गते हुन लागेको उप–निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सामाजिक सद्भाव बिग्रन नदिन र थप अप्रिय घटना हुन नदिन ‘हाई अलर्ट’ जारी गरेको छ । हालसम्म सो घटनामा संलग्न भएको आशंकामा मुख्य योजनाकारसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार