रौतहटको गौर नगरपालिका–६ स्थित सनगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
मस्जिदमा प्रार्थना भइरहेको समयमा हिन्दू समुदायले बाजा बजाएको विषयलाई लिएर सुरु भएको सामान्य विवाद ढुङ्गामुढा र झडपमा परिणत भएको थियो। झडपका क्रममा केही सवारी साधनमा आगजनी हुनुका साथै घरहरूमा तोडफोड भएको र केही व्यक्तिहरू घाइते भएको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।
प्रशासनले गौरको वडा नम्बर ४, ५ र ६ लाई केन्द्रित गरी पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार कर्फ्यु अवधिमा घरबाहिर निस्कन, भेला हुन वा कुनै पनि प्रकारको विरोध प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ भने प्रशासनले स्थानीयलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ।

