राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो ‘वाचा पत्र २०८२’ सार्वजनिक गर्दै कुनै पनि प्रकारका भ्रातृ संगठनहरू निर्माण नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित विशेष सभामा पार्टीले राज्य संरचना र सुशासनका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’ प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो।
नेपालका पुराना राजनीतिक दलहरूले विद्यार्थी, युवा, महिला र विभिन्न पेसागत क्षेत्रमा भ्रातृ संगठन बनाएर शिक्षण संस्था र सरकारी निकायमा दलीय प्रभाव विस्तार गर्ने गरेको पृष्ठभूमिमा रास्वपाले त्यसको विपरीत बाटो रोजेको छ। पार्टीका अनुसार, भ्रातृ संगठनहरूले गर्दा विश्वविद्यालयको शैक्षिक वातावरण बिग्रिएको, कर्मचारी संयन्त्रमा राजनीतीकरण बढेको र समाजमा विभाजन ल्याएको ठहर गर्दै रास्वपाले ‘सदस्य हुने तर कार्यकर्ता नहुने’ अवधारणा अघि सारेको छ।
पार्टी सभापति रवि लामिछानेले सार्वजनिक गर्नुभएको उक्त प्रतिबद्धता पत्रमा भनिएको छ, “हामीले सरकारी सेवा र शैक्षिक क्षेत्रमा दलगत आबद्धता अन्त्य गर्ने लक्ष्य राखेका छौँ। त्यसैले रास्वपाले कुनै पनि भ्रातृ संगठन बनाउने छैन र निजामती प्रशासनलाई तटस्थ र व्यावसायिक बनाउन थोरैले धेरै सेवा दिने संरचनामा रूपान्तरण गर्नेछ।” रास्वपाले भ्रातृ संगठनको सट्टा नागरिकका प्रत्यक्ष समस्यामा आधारित भएर काम गर्ने र चुनावका लागि मात्र ‘प्राइमरी’ (प्राथमिक) निर्वाचनमार्फत उम्मेदवार छनोट गर्ने प्रणालीलाई प्राथमिकता दिने जनाएको छ।

