आलोचना पखाल्ने ‘बालेन अस्त्र’: रविले यसरी बदले आफू विरुद्धको माहोल

spot_img

नेपाली राजनीतिमा रवि लामिछाने र बालेन शाह दुवै ‘परिवर्तनका संवाहक’ मानिन्छन्।

यी दुईबीच कहिल्यै पनि खुला शत्रुता वा ठूलो सैद्धान्तिक मतभेद थिएन, बरु समय-समयमा एकले अर्कोलाई समर्थन नै गर्दै आएका थिए। तर, केही महिना अघि रवि लामिछाने सहकारी प्रकरण र हिरासतमा रहँदा भएको ‘जेनजी विद्रोह’को समयमा भने परिस्थिति अलि फरक बन्यो। त्यतिबेला आन्दोलित युवाहरूको एउटा तप्काले रविले आफ्नो कानुनी संकट टार्न ‘युवा भावना’को प्रयोग गर्न खोजेको भन्दै आलोचना गरेको थियो। तर, अहिले आसन्न निर्वाचनको मुखमा बालेन शाहलाई प्रधानमन्त्रीको साझा उम्मेदवारका रूपमा अघि सारेर रवि र रास्वपाले त्यो आलोचनालाई मात्र शान्त पारेका छैनन्, बरु एक शक्तिशाली ‘नयाँ शक्ति’को उदय गराएका छन्।

केही महिनामै कसरी बदलियो दृश्य?

भदौ २३ र २४ मा भएको ‘जेनजी विद्रोह’का बेला रवि लामिछानेको छवि निकै विवादित बनेको थियो। सहकारी ठगी र संगठित अपराधको आरोपमा हिरासतमा रहेका लामिछानेले उक्त जनआन्दोलनलाई आफ्नो ‘जेल यात्रा’बाट उम्किने ढालको रूपमा प्रयोग गर्न खोजेको आरोप लागेको थियो। आन्दोलनकारी युवाहरूले उनलाई ‘अवसरवादी’ र ‘नक्कली क्रान्तिकारी’ भन्दै चर्को आलोचना गरेका थिए। त्यतिबेला बालेन शाह र रवि लामिछानेका समर्थकहरूबीच सामाजिक सञ्जालमा ठुलै ‘डिजिटल वार’ समेत चलेको थियो।

तर, राजनीतिमा ‘टमिङ’ (समय) नै सबथोक हो। रविले आफूलाई केही पछि हटाएर बालेन शाह जस्तो लोकप्रिय र ‘परफर्मर’ छविलाई अगाडि सार्ने जुन मास्टरस्ट्रोक खेले, त्यसले सारा दृश्य नै बदलिदियो:

राजनीतिक ‘ह्वाइटवास’:जनताले अहिले रविको विवाद भन्दा बालेनको ‘प्रधानमन्त्री’ बन्ने सम्भावनालाई ठूलो उपलब्धि मान्न थालेका छन्।

सेफ गेम र रणनीति: रास्वपाले बालेन र उनको टोलीलाई निर्वाचनको नेतृत्व सुम्पे जस्तो गरेर आफूलाई ‘सुरक्षित’ राखेको छ। यसले गर्दा हिजोका आलोचक युवाहरू पनि अहिले बालेनकै कारण रास्वपाको अभियानमा जोडिन आइपुगेका छन्।

परिवर्तनको साझा भोक: जनता पुराना दलहरू (कांग्रेस, एमाले) बाट यति वाक्क छन् कि उनीहरूका लागि हिजोको सानोतिनो विवादभन्दा आजको ‘बालेन-रवि’ एकता धेरै ठूलो आशाको किरण बनेको छ।

केही महिना अघिको घृणा कसरी समर्थनमा बदलियो?

सायद नेपाली मतदाताहरू ‘विकल्प’को खोजीमा यति आतुर छन् कि उनीहरू सानातिना विवादलाई बिर्सिएर ठुलो परिवर्तनको पक्षमा उभिन तयार देखिएका छन्।हिजो जुन युवाहरूले रविलाई “आन्दोलनलाई आफ्नो ढाल बनाएको” भन्दै ढुङ्गा हानेका थिए, आज तिनै युवाहरू बालेनलाई प्रधानमन्त्री बनाउने सपनामा रविको पार्टीलाई भोट माग्दै हिँडिरहेका छन्। यो नेपालको राजनीतिक इतिहासकै सबैभन्दा सफल इमेज ह्वाइटवासको उदाहरण हो।  बालेन शाह र कुलमान घिसिङ जस्ता पात्रहरूको रास्वपासँगको सामिप्यताले रविलाई ‘पोलिटिकल क्लिन चिट’ जस्तै काम गरेको छ।

रवि लामिछानेले आफ्नो ‘लन्ड्री’ सफा गर्न बालेन कार्ड निकै कुशलतापूर्वक प्रयोग गरेका छन्। बालेन र उनको टोलीलाई नेतृत्व सुम्पेको जस्तो देखाएर रास्वपाले आफूमाथिका सबै आलोचनाहरू पखालिरहेको छ। यो गठबन्धनले चुनावमा कस्तो नतिजा ल्याउँछ, त्यो त समयले नै बताउनेछ, तर हाललाई रवि लामिछानेले आफू विरुद्धको जनमतलाई सफलतापूर्वक आफ्नो पक्षमा पल्टाउन सफल भएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार