एसिया कप राइजिङ स्टार्स: नेपाल पाकिस्तानसँग ३० रनले पराजित

spot_img

थाइल्याण्डको बैंककमा आजदेखि सुरु भएको ‘एसीसी वुमेन्स एसिया कप राइजिङ स्टार्स’ को उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोली पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको छ। १३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।

पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।नेपालका लागि प्रारम्भिक ब्याटर विन्दु रावलले सर्वाधिक ३९ रन (४५ बल, ८ चौका) बनाइन्। यस्तै, सीता राना मगरले अविजित १९ र कविता कुँवरले अविजित १८ रन जोडे पनि टोलीलाई जिताउन पर्याप्त भएन।

बलिङतर्फ नेपालकी कविता कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा मात्र १० रन खर्चेर २ विकेट लिइन्। मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुविना क्षेत्रीले समान १-१ विकेट लिए।

घाइते इन्दु बर्माको अनुपस्थितिमा आजको खेलमा पूजा महतोले नेपालको नेतृत्व गरेकी थिइन्।

नेपालले अब आफ्नो दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र तेस्रो खेल फेब्रुअरी १७ मा भारत ‘ए’ सँग खेल्नेछ। समूहको शीर्ष दुईमा पर्न नेपालका लागि आगामी दुवै खेल जित्नुपर्ने दबाब छ।

सम्बन्धित समाचार

ताजा समाचार