झापा र पोखराको लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्कँदैछन्। पूर्वराजाको स्वागतका लागि समर्थकहरूको उल्लेख्य उपस्थिति हुने र सुरक्षा संवेदनशीलता बढ्न सक्ने आँकलन गर्दै गृह मन्त्रालयले सुरक्षा व्यवस्था निकै कडा पारेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पूर्वराजाको निजी निवास निर्मल निवाससम्मको रुटमा नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ। सुरक्षा स्रोतका अनुसार उक्त क्षेत्रको सुरक्षा कमाण्ड प्रहरी उपरीक्षकले सम्हालेका छन्। विमानस्थलको बाहिरी गेट, गौशाला, चाबहिल र महाराजगन्ज क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
प्रहरीले कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मुख्य चोकहरूमा साना सवारी साधन डाइभर्सन समेत गर्न सक्ने जनाएको छ।

