काठमाडौँ । पछिल्लाे समय १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिक्ने र बिक्री–वितरण गर्ने गरेकाे कुरा बाहिरीएपछि सरकारले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ तयार पारेको छ । आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टरहरूमा हुँदै आएको अवैध कारोबार र बदमासी रोकी डिम्ब तथा शुक्रकीट दान व्यवस्थित गर्न मन्त्रालयबाट तयार पारिएको मापदण्डलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार स्वीकृत गरेका हुन् ।
मापदण्डको अनुसूची ९ को दफा ८ को (क) मा डिम्ब र वीर्य दानसम्बन्धी व्यवस्था छ, जसमा डिम्ब र वीर्य दान गर्ने व्यक्तिले पूरा गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
नयाँ मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै डिम्ब र शुक्रकीट दान गर्न पाउनेछन् । साथै अब आइभिएफ सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूको शुल्क मन्त्रालयले तोक्नेछ ।
स्वीकृति भएसँगै उक्त मापदण्ड कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
डिम्ब दानसम्बन्धी मापदण्ड
- एक डोनरले ६ पटक मात्र डोनेसन गर्न मिल्ने
- डोनेसनको अवधि कम्तीमा तीन महिनाको फरक हुनुपर्ने
- डोनरको परिचय प्रापकलाई सुनाउन नमिल्ने
- डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने
- डोनरको शारीरिक स्वास्थ्य परीक्षण गर्नुपर्ने
- कुनै सरुवा रोग नभएको हुनुपर्ने
- परिचयपत्र रेकर्ड राख्नुपर्ने
- डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने
- डिम्ब दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई मन्जुरीनामा लिनुपर्ने
- विवाहितको हकमा श्रीमान्को मन्जुरी हुनुपर्ने
- कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने
वीर्य दानसम्बन्धी मापदण्ड
- एक डोनरले कम्तीमा १५ दिनको फरकमा दशपटकभन्दा बढी डोनेसन दिन नमिल्ने
- डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
- डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्ने
- डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गर्ने
- कुनै सरुवा रोग नभएको हुनुपर्ने
- नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने
- डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण रिपोर्ट पेस गर्नुपर्ने
- वीर्य दान गर्ने व्यक्तिसँग मन्जुरीनामा लिनुपर्ने
- विवाहितको हकमा श्रीमान्–श्रीमती दुवैजनाको मन्जुरी हुनुपर्ने
- प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न नपाइने
यस मापदण्डले अब यो सेवा दिन सहयोग गर्ने स्वास्थ्य संस्था, दाता र लिनेलाई सहज हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

