काठमाडाैँ । जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा २७ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेका बुटवल उपमहानगरपालिका वडा नम्बर १४ रुपन्देहीका सुदिप न्यौपाने पनि रहेका छन् । घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो ।
हमलामा २० भन्दा बढी पर्यटक घाइते भएका छन् ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ । भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।
राष्ट्रपति पौडेलले आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् ।
परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको भर्त्सना गर्दै शोकको यस घडीमा भारत सरकार तथा भारतीय जनताप्रति नेपालले ऐक्यबद्धता प्रकट गरेको पनि उल्लेख गरेको छ ।
‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

