काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेकाे छ ।
यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै रु.३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको हो ।
आयोगको अनुसन्धानअनुसार, यादवले २ करोड ४२ लाख २० हजार ३०१ आर्जन गरेका थिए । तर, सोही अवधिमा उनको खर्च भने ५ करोड ७१ लाख ६६ हजार ३ पुगेको देखिएकाे थियो । आय र व्ययको हिसाब गर्दा रु. ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको आयोगको दाबी छ ।
यादवले उक्त गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती अमृताकुमारी यादवको नाममा राखेको पाइएकोले साे सम्पत्ति जफत गर्न अमृता कुमारीलाई समेत प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर ठहर गर्दै आयोगले बिगो र सोबराबरको सम्पत्ति जफत गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो मुद्दाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पारदर्शिता र जवाफदेहितामाथि फेरि प्रश्न उठाएको छ ।

