काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले फौजदारी अभियोगमा र सानोतिनो भ्रष्टाचारजन्य अभियोगमामा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधाबाट वञ्चित गर्न नहुने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उनले यसाे गर्दा परिवारले पाउने सुविधाबाट वञ्चित भइ दोहोरो सजाय हुनसक्ने बताएका हुन् ।
बडूले भने, ‘सानोतिनो विषयले पनि यदि दोहोरो सजाय पनि हुनसक्छ कि भन्ने पनि कुरा हो है। सम्बन्धित अभियोग जुन हुन्छ, त्यस अभियोगको त कानुन लाग्छ । त्यो सजायमा कानुन लाग्छ जेल पनि बस्छ मनिटरी सजाय पनि हुन्छ । नगदको सजाय पनि हुन्छ । अन्य नागरिक सरह सजाय पाउनुपर्छ । तर त्यसबाहेक सानोतिनो समस्याले उसको परिवारले पनि बच्चाहरुले पनि पाउने सुविधासमेत हो त्यो पेन्सन भनेको । त्यसकारण त्यहाँ पनि अन्याय पो हुने हो कि। त्योसमेत रोकेर दोहोरो सजाय हुने हो कि?’
बैठकमा बाेल्दै बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको समेत बताए । उनले हालसम्म सरकारी कर्मचारी निवृत्तिभरण भइसकेपछि प्राप्त हुने पेन्सन तथा सरकारी नियुक्तिवापतको सुविधा गरी दोहोरो सुविधा लिने गरेकोले कानूनी रुपमै लिन नपाउने व्यवस्था गरिएको भनाई राखे ।

