काठमाण्डौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गर्भनर बनाउने पार्टिबिच सहमति भएकाे चर्चासँगै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
उनको राजीनामा भने कामु गभर्नर निलम ढुंगानाले रोकेको चर्चा छ । स्वयम् पनि गभर्नरको दौडमा रहेकी ढुंगाना आफू गभर्नर हुन नपाउने भएपछि भट्टको राजीनामा स्वीकृत नगरेको चर्चा भइरहेको छ । ढुंगानालाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास गरेको बताइने गरेको छ ।
त्यस्तै यता डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।
दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन् ।
उक्त रिटमा आइतबारका लागि पेसी ताेकिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि पुरक रिट निवेदनमा दाबी गरिएको छ ।
कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ ।
एमाले र काग्रेसले प्याकेजमा सहमति गर्ने क्रममा गभर्नर कांग्रेसको कोटाबाट गभर्नर नियुक्त गर्ने सहमति भएको थियो ।

