मुन्दुम ट्रेल भ्रमणवर्ष–२०२५ का अवसरमा रेडपाण्डा तथा थार महोत्सव – दयाहाङ राईद्वारा शुभारम्भ गरिने

दुईदिन सम्म चल्ने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन समावेश गरिनुका साथै स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने बताइएकाे छ ।

spot_img

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा खोटाङमा दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव’ हुने भएकाे छ ।

विश्वमै लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वैशाख १ र २ गते रेडपाण्डा तथा थार महोत्सवकाे आयोजना गरेको हो ।

महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन समावेश गरिनुका साथै स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने बताइएकाे छ ।

महाेत्सव दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकाे वडा नं २ सोल्मास्थित हुर्लुङमा दुईदिनसम्म चल्नेछ ।

महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ पदमार्गको समेत शुभारम्भ गरीने आयोजक समितीले जानकारि दिएकाे छ । यसको शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत एवं चर्चित अभिनेता दयाहाङ राईले गर्नेछन् ।

गत पुसमा शुभारम्भ भएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा एक लाख हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई  सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश  गरेको छ ।

पछिल्लो समय वर्षमा ३५ हजार हाराहारी आन्तरिक तथा बाह्य पर्यटकले मुन्दुम पदमार्गमा यात्रा गर्ने गरेका छन् ।

खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ ३ हजार १ सय ६५ मिटर अग्लो टेम्केडाँडा हुँदै मैयुङ, ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा ४ हजार १ सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार