महानगर विवाद: प्रशासकीय अधिकृतको कार्यकक्षको ढोका फुटाएर हाजीर गराइयाे

spot_img

काठमाडाैँ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौं महानगरपालिकाकाकाे कार्यालयमा गएर हाजिर गरेका छन् । गुरागाईंलाई रोक्न बालेनले महानगर प्रहरी परिचालन गरेकाे भएपनि उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू तथा कर्मचारीकाे सहयाेगमा कार्यालय प्रवेश गरी हाजिर गरेका हुन् ।

कर्मचारीहरूले ताला फुटाएरै उनलाई हाजिर गराएका हुन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्किएपछि उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बैठक बसेको छ । वडाध्यक्ष र अन्य जनप्रतिनिधिले यसलाई कार्यपालिका बैठक नै भएको दाबी गरेका छन् । विभागीय प्रमुखहरू सहभागी बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन) भने सहभागी छैनन् ।

गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लागाएपछि बोर्ड बैठक हलमा उपमेयर डंगोलले बालेनको आलोचना गर्दै भनिन, ‘कसैको मनमुटाव होला जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ ।’

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ । उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ‘ भन्दै हरेक घटनाक्रममा आफूहरू जानकार रहेकोले डंगोलले कोठामा बसेर निर्देशन नदिन बालेनलाई सचेत गराइन् ।

प्रमुख प्रशासकीय अघिकृत गुरागाईं दोषी देखिए कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको तर , अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेकोले हाजिर गर्ने व्यवस्था गर्नुपर्ने बताइन । उनले भनिन, ‘हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन । यो तमासा हामीले हेर्नुपर्ने,  मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

यता गुरागाईंलाई कार्यालय प्रवेश गर्न् नदिएकाेमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयले दिएको आदेश नगर प्रहरीले पालना गर्ने बताएका छन् । उनले भने, ‘चेन अफ कमान्ड भन्ने कुरा हुन्छ, हामी पनि महानगरकै कर्मचारी हौँ, ।’

वडाध्यक्षहरूले रोक्ने नगर प्रहरीलाई कार्यपालिका बैठकबाट कारबाही गर्ने धम्की दिएका छन्। त्यसरी धम्की दिने वडाध्यक्षहरूमा वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन, वडा नम्बर ८ का वडाध्यक्ष आसमान संगत लगायत छन् ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा बस्न भनिएको थियो ।

मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए। तर, उनीमाथिको कुनै पनि आरोप पुष्टि नभएकाले सरकार गुरागाईंलाई हटाउन तयार भएन ।

काममा रोक लगाएपछि बालेन्द्र र संघीय सरकारबीच द्वन्द्व चर्किरहँदा कर्मचारीले तलब खान नपाएको तीन महिना भइसकेको छ ।

 

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार