म्यानम्यारको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ७ सय नाघ्याे

spot_img

काठमाडाैँ । समाचार संस्था एपीका अनुसार म्यानमारमा भूकम्पका कारणा २ हजार ७ सय १९ जनाको मृत्यु भइसकेको र ४ हजार ५ सय २१ जना घाइते भएको म्यानमारको सैन्य सरकारका प्रमुखले बताएकाे जनाएकाे छ  । भूकम्सापका परेका ४ सय ४१ जना अझै भेटिएका छैनन् । खोजी र उद्धार कार्य जारी छ ।

चिनियाँ उद्धारकर्ताको एक टोलीले एउटा अपार्टमेन्ट कम्प्लेक्सको भग्नावशेषबाट चारजनालाई जीवित उद्धार गरेको म्यानम्यारको राज्य संचालित एक पत्रिकाले जनाएको छ । उद्धार हुनेका पाँच वर्षीय बालक र एक गर्भवती महिला समेत रहेका छन् ।

विश्व स्वास्थ्य संगठन ले हालसम्म १० हजार भन्दा बढी भवनहरू भूकम्पका कारण पूर्ण रूपमा भत्किएको बताएको छ ।

म्यनमारकाे भूकम्प पिडीतलाई सहयोग र उद्धार कार्यमा सहयोगका लागि विभिन्न देशले राहत सामाग्री सहित उद्धार टाेली पठाएको छ । रुस, चीन, भारत, संयुक्त अरब इमिरेट्स र केही दक्षिणपूर्वी एसियाली देशहरू सहित विभिन्न राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय उद्धार टोलीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

यसैबीच, विभिन्न देशहरूले म्यानमार र मानवीय सहायता संस्थाहरूलाई उद्धार कार्यमा सहयोग गर्न लाखौं डलरको सहायता गर्ने प्रतिबद्धता गरेका छन् ।

चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।

यद्यपि, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक मार्कोलुइजी कोर्सीले भने, ‘हामीले हालसम्म कुनै सहायता अवरोधको अनुभव गरेका छैनौं । वितरण कार्य जारी छ ।’

म्यानमारमा भइरहेको गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप जटिल बनेको छ ।

‘विनाश ठूलो छ, आवश्यकताहरू तीव्र गतिमा बढिरहेका छन्,’ संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का उपप्रतिनिधि जुलिया रिसले भने । ‘स्वच्छ पानी, खाद्य सामग्री र औषधिको चरम अभाव छ । राहत नपुगे धेरैको जीवन सङ्कटमा पर्नेछ,’ उनले भने ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्था (आइआरएफसी) ले तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन् कठिन बनेको उल्लेख गरेको छ । आइआरएफसीले झन्डै एक लाख प्रभावित व्यक्तिलाई सहयोग गर्न १०० मिलियन स्विस फ्र्याङ्क (११३ मिलियन डलर) सहयोग सङ्कलन अभियान थालेको छ ।

संयुक्त राष्ट्रसंघ (यूएन)का अनुसार, भूकम्प आउनु अघि नै म्यानमारको भीषण गृहयुद्धका कारण ३० लाखभन्दा बढी मानिस आफ्ना घरबार छोड्न बाध्य भएका थिए, र झन्डै २ करोड मानिसलाई सहायता आवश्यक थियो ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले धेरै मानिसहरू पहिले नै आधारभूत चिकित्सा सेवा र नियमित खोपहरूबाट वञ्चित थिए, र भूकम्पका कारण पानी तथा सरसफाइ पूर्वाधार ध्वस्त हुनुका साथै भीडभाडयुक्त आश्रयस्थलहरूमा मानिसहरूको बसाइँसराइले रोग फैलिने जोखिम बढाएको बताएकाे छ।

ओसीएचएको पछिल्लो रिपोर्टअनुसार, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, छालाका रोगहरू, डेंगु जस्ता लामखुट्टेबाट सर्ने रोगहरू र खोपबाट रोकथाम गर्न सकिने रोगहरू—जस्तै दादुराको जोखिम तीव्र रूपमा बढिरहेको छ ।

यस्तै, थाइल्याण्डको बैंककमा भूकम्पका कारण २२ जनाको मृत्यु भइसकेको भने ३४ जना घाइते भएका छन् ।

शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियाे । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियाे ।

– एजेन्सीहरूकाे सहयाेगमा

सम्बन्धित समाचार

ताजा समाचार